माप्य दुशकोशीः जातिय बिभेद हटाउन दलित समुदायलाई कर्मकाण्ड तालिम

creationnpl.com

दलित तथा पिछडिएका समुदायलाई लक्षित गर्दै सोलुखुम्बुमा धार्मिक कर्मकाण्ड सम्बन्धी तालिम सुरु भएको छ । धार्मिक विधि, पूजापाठ तथा संस्कारबारे व्यवहारिक सीप प्रदान गर्ने उद्देश्यले सप्ताहव्यापी तालिम आयोजना गरिएको हो ।


माप्यदूधकोशी गाउँपालिकाको आयोजनामा सुरु भएको तालिममा गाउँपालिकाका सातवटै वडाबाट प्रतिनिधित्व हुने गरी ११ जनाको सहभागिता छ । तालिममा सहभागीले जन्म, विवाह, मृत्यु संस्कार, चाडपर्वलगायत धार्मिक कर्मकाण्डबारे तालिम लिनेछन् ।

गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले गाउँघरमा हुने छुवाछूतको अन्त्यका लागि दलित समुदायका अगुवालाई धार्मिक कर्मकाण्डसम्बन्धी सीप प्रदान गरिएको बताए ।

गाउँघरमा दलित समुदायको घरमा धार्मिक कार्य वा मृत्यु संस्कार गर्नुपर्दा ब्राह्मण समुदायका पुरोहितहरू उपस्थित नहुने समस्या रहेको तालिममा सहभागी बताउँछन् । दलित समुदायको घरमा कर्मकाण्ड गरेमा सामाजिक बहिष्कार र जातीय दण्डको डर हुने ब्राह्मण समुदायका पुरोहितको गुनासो छ ।

दलित तथा पिछडिएका समुदाय समाजको अभिन्न अङ्‍ग भएकाले समानताको अभ्यास गर्न तालिमको आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष गौरव राईले बताए । स्थानीय दलित अगुवा विकुमार विश्वकर्माले दलित समुदायका लागि तालिम आयोजना हुनु स्वागतयोग्य भएको बताए ।


धार्मिक कर्मकाण्डले धार्मिक जीवनलाई व्यवस्थित, सुसंस्कृत र आध्यात्मिक बनाउने भएकाले सबै समुदायमा दक्ष जनशक्ति आवश्यक रहेको सहभागीको भनाइ छ । स्थानीय पुरोहित कृष्णप्रदान घिमिरेले तालिमको सहजीकरण गरिरहेका छन् ।

प्रतिक्रिया