नेपाली कांग्रेसले सोलुखुम्बुबाट प्रकाशसिंह कार्कीलाई उम्मेद्वार बनाएसंगै आङगेलु शेर्पा समूह रुष्ट बनेको छ । सिङ्गो जीवन नै काङ्ग्रेसका निम्ति खर्चिएका शेर्पालाई यस पटक पनि संघिय उम्मेदवारबाट बन्चित गराएपछी उनी र उनका समर्थकहरू असन्तुष्ट बनेका हुन ।
लामो समयसम्म बल बहादुर केसीको दमनमा परेका शेर्पा केसीले चुनाब नलाड्ने घोषणा गरेसंगै संघिय उम्मेदवारको सशक्त दावेदार रहेका थिए । तर, यो पटक पनि शेर्पालाई पाखा लगाएर प्रकाशसिंह कार्कीलाई टिकट दिएपछी शेर्पा पार्टी नै छाड्ने मनस्थितिमा पुगेका हुन ।
उनले हिजो रास्वपामा उम्मेदवारीका लागि लामो छलफल गरेका थिए । तर, रास्वपाको जिल्ला तहले उम्मेदवार फाईनल गरिसकेकाले बिचमा शेर्पालाई उम्मेदवार बनाउन सम्भव भएन । त्यसपछी, शेर्पाका समर्थकहरूले शेर्पा स्वतन्त्र उम्मेद्वार बन्नुपर्ने अडान राखेका छन ।
बर्षौबर्ष केसीद्वारा पेलिएका शेर्पालाई केसीले सन्यास लिदापनी अवसर नदिनु भनेको काङ्ग्रेसले शेर्पा समुदायलाई उपेक्षा गरेको र खासगरी जनजातीको हातमा नेतृत्व सुम्पिन काङ्ग्रेस तयार नभएको विश्लेषण हुन थालेको छ । बिगत ४ दशकको ईतिहास हेर्दा नेपाली काङ्ग्रेस सोलुखुम्बुले कुनैपनी जनजातीलाई संघिय उम्मेदवारको टिकट दिएको छैन ।
यता नेपाली काङ्ग्रेसबाट टिकट पाएका प्रकाशसिंह कार्की बर्तमान काङ्ग्रेस सभापती गगन थापाको नाता समेत पर्ने भएकाले नातावाद र कृपावादको बहस पनि सोलु काङ्ग्रेसमा सुरु भएको छ । जेन्जी आन्दोलनमा घर आगजनी भएपछी हाल गगन थापा प्रकाशसिंह कार्कीकै घरमा बसिरहेकाले पनि यहाँ शंकाका कयौ सुबिधा रहेको काङ्ग्रेसका जिल्ला सभापती नाम्गेल जाङ्बु शेर्पाले बताएकाछन ।
अब आङगेलु शेर्पाले यो अपमान र अन्यायको जवाफ कसरी दिन्छन भन्ने कुरा अत्यन्तै महत्वपूर्ण छ । सोलुखुम्बुका आम कार्यकर्तामा बलियो पकड भएका शेर्पा स्वतन्त्र उम्मेद्वार बनेर मैदानमा आउँदापनि जित सुनिश्चित रहेको विश्लेषण हुन थालेको छ । बुझिए अनुसार शेर्पा स्वतन्त्र उम्मेदवारी दिने मनस्थितिमा पनि पुगेकाछन । यदि उनले स्वतन्त्र उम्मेदवारी दिएमा सिङ्गो शेर्पा र काङ्ग्रेसभित्रको जनजातीको मत कब्जा गर्न सक्ने आँकलन हुन थालेको छ । उनिमाथी भएको राजनितिक अन्यायको जवाफ दिनका लागि पनि जनताले सहानुभुतीको मत प्रकट गर्ने बुझाई छ । तर, शेर्पाले यो तहको बिद्रोहको आँट गर्छन कि गर्दैनन समयले बताउनेछ ।