थुलुङ दुधकोशी गाउँपालिकाले आयोजना गर्न लागेको सातौँ अध्यक्ष कप खुल्ला वडास्तरिय महिला–पुरुष भलिबल प्रतियोगिता तथा बृहत गाउँपालिका महोत्सव–२०८२ का लागि सम्पूर्ण तयारी पूरा भएको छ। महोत्सवको उद्घाटन भोली बिहान ९ बजे गाउँपालिकाको केन्द्र मुक्लीमा हुने भएको छ।
“खेलकुद, कृषि, पर्यटन, गीत–संगीत र कला–संस्कृतिको उत्थान गरौ, पालिका महोत्सव २०८२ भव्यताका साथ सफल पारौँ” भन्ने नाराका साथ सुरु हुन लागेको महोत्सवमा यस वर्ष गाउँपालिका भित्र भएका कृषि उत्पादनहरूको प्रदर्शनी पनि गरिने जनाइएको छ।
स्थानीय पहिचान, खेलकुद तथा कृषि विकासलाई जोड दिने उद्देश्यसहित आयोजना गरिएको महोत्सवले ग्रामीण अर्थतन्त्र प्रवर्द्धनमा समेत सहयोग गर्ने अपेक्षा गरिएको छ।
यस्तै, महोत्सवको सांस्कृतिक आकर्षणका रुपमा पर्सी ६ गते चर्चित गायक प्रमोद खरेलको परम्परा म्युजिक ब्याण्ड तथा इन्द्रेणीका कृष्ण कडेलसहितका कलाकारहरूको सहभागितामा विशेष बृहत सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। साथै अन्य राष्ट्रिय तथा स्थानीय कलाकारहरूका बेजोड प्रस्तुती पनि रहने आयोजकले जनाएको छ ।
Photo By Amrit Thulung Rai (Shikharpost)